ललितपुर — विश्व क्यान्सर दिवसको अवसरमा किष्ट शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सर बिरामीहरूका लागि विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गर्ने भएको छ ।
अस्पतालका अनुसार अभियानअन्तर्गत सामान्य अङ्कोलोजी वार्डमा क्यान्सरसम्बन्धी उपचारका लागि आउने बिरामीहरूलाई निःशुल्क ओपीडी परामर्श सेवा तथा निःशुल्क बेड सुविधा प्रदान गरिनेछ । उक्त अभियान फेब्रुअरी ४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
किष्ट शिक्षण अस्पताल विगतदेखि नै स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि, निःशुल्क उपचार कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधिमार्फत समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको जनाएको छ । विश्व क्यान्सर दिवसका अवसरमा सञ्चालन हुन लागेको यो कार्यक्रम अस्पतालका विभिन्न सीएसआर गतिविधिमध्ये एक महत्वपूर्ण अभियान रहेको अस्पतालले जनाएको छ ।
क्यान्सरजस्तो प्राणघातक रोगको समयमै पहिचान, उपचार तथा सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको र यसबाट आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यस अवसरमा किष्ट शिक्षण अस्पतालले सम्बन्धित सबै क्यान्सर बिरामी तथा सरोकारवाला व्यक्तिहरूलाई उक्त सेवाको लाभ लिन आग्रह गरेको छ ।